काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङको पहिलो पुस्तक प्रकाशन भएको छ ।चार दशकदेखि सक्रिय राजनीतिमा रहनुभएका तामाङको ‘राज्यको रुपान्तरण’ नामक पुस्तक प्रकाशन भएको हो । ताम्सालिङ नलेज सेन्टरले प्रकाशनमा ल्याएको ‘राज्यको रूपान्तरण’ पुस्तकमा संविधान लेखन, संघीय गणतन्त्र, राष्ट्रियताका मुद्दा र ताम्सालिङसँग सम्बन्धित विषयमा केन्द्रित भई छलफल एवं मन्थन गरिएका विचार समावेश छन् ।पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका सांसद तामाङको नयाँ कृति यही फागुन २२ गते प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गर्दै हुनुहुन्छ । पुस्तक विमोचनका लागि ताम्सालिङ नलेज सेन्टरले प्रज्ञा प्रतिष्ठान (सिद्धिचरण सभाकक्ष) कमलादीमा दिउँसो साढे ३ बजे कार्यक्रम आयोजना गरेको जनाएको छ । सोही क्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङद्वारा लिखित तथ्यांक र आदिवासी जनजाति पुस्तकसमेत विमोचन हुनेछ ।सांसद हितबहादुरको पुस्तकका विषयमा विश्लेषक तथा पत्रकार राजेन्द्र महर्जन र मोहनको कृतिमाथि बुद्धिजीवी बालकृष्ण माबुहाङले विचार चर्चा गर्नुहुनेछ ।लेखक तामाङले आउने पुस्ताका पाठकले अध्ययन गर्न चाहेमा ‘राज्यको रुपान्तरण’ पुस्तक सन्दर्भ सामग्रीको रूपमा लिने आशाले किताब प्रकाशनमा ल्याएको बताउनुभएको छ ।नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँमा २०२० सालमा जन्मनु भएका तामाङ २०३८ सालदेखि नै सक्रिय राजनीतिमा हुनुहुन्छ । उहाँको ‘राज्यको रुपान्तरण’ पुस्तकमा नेकपा एकीकृत माओवादी ताम्सालिङ राज्य समितिको मुखपत्र उत्कर्ष मासिक पत्रिकामा प्रकाशन भएका ६, गोरखापत्र दैनिकमा प्रकाशन भएका २, ह्युलला छार काअीमा प्रकाशन भएको १, नेपाल तामाङ विद्यार्थी घेदुङ, त्रिवि कीर्तिपुरको मुखपत्र ह्याङला काअीमा प्रकाशन भएका २. हाम्रो ताम्सालिङ पत्रिकामा प्रकाशन भएको १, याङला दोखाङमा प्रकाशन भएको १, नयाँ प्रवाह रसुवा पत्रिकामा प्रकाशन भएको १, अखिल क्रान्तिकारी नुवाकोटले प्रकाशन गर्ने छाल पत्रिकामा प्रकाशन भएको १, जनदिशा दैनिक पत्रिकामा प्रकाशन भएका ९, पञ्चकन्या स्मारिकामा प्रकाशन भएको १, नयाँ पत्रिकामा प्रकाशन भएका ४, जनादेश साप्ताहिक पत्रिकामा प्रकाशन भएका २, युवा आवाजमा प्रकाशन भएको १, महिला आक्रोशमा प्रकाशन भएको १ लेख पुस्तकमा समावेश गरिएको छ । त्यस्तै, स्मृति ग्रन्थहरूमा क. दिवाकर स्मृति ग्रन्थ, गणेश पण्डित स्मृति ग्रन्थ २ सहिद भरत ढुंगाना स्मृति ग्रन्थमा प्रकाशन भएका लेखलगायत पनि छन् ।राष्ट्रिय मुक्ति आन्दोलन र सर्वहारा अन्तर्राष्ट्रवाद, खोला तर्यो लौरो बिर्स्यो, संसद्वादी दलहरूको प्रवृत्ति, ताम्सालिङ रिङरोड निर्माण सम्बन्धमा लेखिएक लेख पनि संकलन गरिएको छ । त्यस्तै, २०८० सालमा लेखेको ‘भारतीय जेलको सेरोफेरो’ र ‘महान् सहिद वीरबहादुर तामाङ’ नामको संस्मरण पनि पुस्तकमा सामेल गरिएको छ । यी सबै गरी ४४ लेखको संकलनको रूपमा ‘राज्यको रूपान्तरण पुस्तक तयार भएको लेखकले जनाएको छ ।