जापान, फुकुओका ।
जापानमा ११औं नेपाल फेस्टिवल फुकुओका-२०२४ अप्रिल ६ शनिबार हुने भएको छ ।गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमितिको नेतृत्वमा क्युस्युमा अवस्थित संघ संस्थाहरुको आयोजनामा फुकुओका सहरको तेन्जिन चियो पार्कमा नेपाल फेस्टिवल फुकुओका २०२४ आयोजना हुदैछ।
नेपाल फेस्टिवल फुकुओकामा नेपालको विशेषताहरुलाई समेटेर नेपालीपन झल्कने खालका विशेष कार्यक्रम गरिनेछ । फेस्टिवलमा नेपाली मौलिक खाना, नेपालका विभिन्न जात जातिहरुको संस्कृति, भेगीय भेषभुषाको प्रस्तुति र राष्ट्रिय गौरवहरु गौतम बुद्ध, सगरमाथा आदिको प्रचार गर्दै नाचगानसहित मनोरन्जनमूलक कार्यक्रम हुने गरेका छन् ।
यस वर्ष जापानमा स्थापित कम्पनीहरुको २१ वटा स्टल बुकिंङ भएको छ । त्यस्तै, क्युस्यु क्षेत्रमा बसोबास गर्नुहुने सांगीतिक क्षेत्रमा लाग्नुभएका सर्जक, स्रष्टाहरुलाई २०२४ मार्च १७ तारीख सम्म सम्पर्कका लागि समेत अनुरोध गरिएको छ । परेड, प्रचारप्रसार, स्वयम्सेवक,आर्थिक संकलनलगायत विविध तयारीहरु व्यापकरुपमा भइरहेको संयोजक बिबेक बुढाथोकीले बताउनुभयो ।